• Friday 9th of October 2026

मन्त्री पौडेलको प्रष्टीकरण, ‘प्रलोभनमा पार्न नसकेपछि विवादमा तान्ने खेल सुरु भयो’


  • धनकुटा खबर
  • .

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले पछिल्लो समय मन्त्रालयमा भेटघाटका लागि जारी गरिएको सूचनालाई लिएर बजारमा फैलाइएको भ्रमप्रति तीव्र असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पौडेलले स्वार्थ समूहहरूले आफूलाई प्रलोभनमा पार्न नसकेपछि विवादमा तान्न खोजेको आरोप लगाएका हुन्।

बजारमा चलेका हल्लाहरूलाई स्वाभाविक प्रक्रियाका रूपमा टिप्पणी गर्दै उनले प्रलोभनमा पार्न असफल भएपछि विवाद सिर्जना गर्ने पुरानो प्रवृत्ति आफूलाई राम्रोसँग थाहा भएको उल्लेख गरेका हुन्। मन्त्री पौडेलले मन्त्रालयको मुख्यालय आम नागरिकका लागि सधैँ खुल्ला रहने प्रतिबद्धता जनाउँदै केही दिनअघि जारी गरिएको सूचनाको गलत व्याख्या गरिएको स्पष्ट पारे।

अनलाइनबाट भेटघाटको मिति र समय तय गर्ने व्यवस्था प्रविधिमैत्री बनाउनका लागि मात्र ल्याइएको भन्दै उनले अन्य माध्यमबाट भेट्न रोक नलगाइएको प्रस्ट पारेका छन्। ‘भेटघाटका लागि समय आजको आजै, दुई–चार दिन अघि वा एक घण्टा अघि मात्रै तय गरे पनि हुन्छ,’ मन्त्री पौडेलले भनेका छन्।

विशेष सल्लाह, सुझाव दिन र अपर्झट परेका गुनासोहरू पोख्नका लागि मन्त्रालयमा जति बेला पनि आउन सकिने भन्दै उनले आफ्नो व्यक्तिगत मोबाइल नम्बर ९८५६०३१६४७ समेत सार्वजनिक गरेका छन्। यद्यपि, उनले काम बाहेक केवल बधाई दिन, शुभकामना टक्र्याउन र मन्त्रीसँग निकटता देखाउने उद्देश्यले मात्र मन्त्रालय नआउन पुनः आग्रह गरेका छन्।

काम गर्ने शैलीमा सुधार ल्याउन खोज्दा त्यसलाई अनावश्यक विवादको विषय नबनाउन समेत उनले सचेत गराएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖