काठमाडौं । विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालय परिसरलाई दलीय प्रभावमुक्त बनाउने निर्णय कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। दुई साताअघि शिक्षामन्त्रीको सहभागितामा बसेको बैठकले विश्वविद्यालय परिसरभित्र रहेका विद्यार्थी सङ्गठनका ब्यानर, झन्डा, भित्ते लेखनलगायतका सामग्री तुरुन्त हटाइने निर्णय गरेको हो।
यो निर्णय कार्यान्वयनमा लैजानको लागि सर्कुलर पठाइएको छ। विश्वविद्यालयको ऐनमा दलीय विद्यार्थी संगठनसम्बन्धी कुनै कानुनी व्यवस्था भएमा ती प्रावधान खारेज गर्न तीन तहको प्रस्ताव तयार गरी आयोगमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरिने निर्णय गरेको छ।
विश्वविद्यालयको नियमावली/नियमावली लगायतमा त्यस्तो व्यवस्था गरेको भएमा विश्वविद्यालयको कार्यकारी परिषद्/सभा वा सम्बन्धित निकायबाट ६० दिन भित्र संशोधन गर्ने निर्णय गरेको छ।
निर्णयमा भनिएको छ, ‘दलीय विद्यार्थी संगठन हटाउने कार्यमा कुनै प्रकारको सुरक्षा चुनौती भएमा सो ब्यहोराको जानकारी तत्काल सुरक्षा निकायलाई गराउने। साथै विश्वविद्यालय परिसरमा अस्थायी/स्थायी प्रकृतिको सुरक्षा युनिट व्यवस्थापन गर्नु पर्ने अवस्था देखिएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत गृह मन्त्रालयमा अनुरोध गर्ने।’
