काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले ‘डेडलाइन’ नै तोकेर जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुने चेतावनी दिएपछि पार्टीभित्र तरङ्ग उत्पन्न भएको छ । राप्रपाको विवाद उग्र बनिरहेको बेला राणाले ‘डेडलाइन’ नै तोकेर यस्तो अभिव्यक्ति दिएपछि पार्टीभित्र थप तरङ्ग उत्पन्न भएको हो ।
पार्टीभित्र विधि र पद्धतिको वकालत गर्दै राणा नेतृत्वकै असन्तुष्ट समूहले जेठभित्र महाधिवेशन गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाब दिँदै आएको छ ।
यही क्रममा चैत २८ गते असन्तुष्ट पक्षले नेतृत्वलाई ध्यानाकर्षण गराउँदै ३ बुँदे माग अघि सारेको थियो । जसमा सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने, केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्ने र व्यापक सुधारको उद्देश्य लिएर एकताको महाधिवेशन पश्चात् राप्रपाको आदर्श, विधान र अनुशासन विपरीत भएका काम कारबाहीको न्यायसङ्गत छानबिन गरी आगामी महाधिवेशनमा निष्कर्ष पेस गर्न एक छानबिन समिति गठन गर्ने विषय उल्लेख छ ।
यही मागसहित ध्यानाकर्षण गराएको एक साताको अल्टिमेटम आइतबारसम्म रहँदा त्यसअघि नै महामन्त्री राणाले दिएको कडा अभिव्यक्ति दिएका हुन् ।
रातोपाटीको वारपार कार्यक्रमका लागि शनिबार दिएको अन्तर्वार्तामा राणाले ‘जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुने’ अभिव्यक्ति दिएका थिए । उनले अन्तर्वार्तामा भनेका छन्, ‘कार्यकर्ताहरूलाई के भन्छु भने तपाईँहरूले पनि प्रेसर गर्नुपर्याे । पार्टी फुट्न दिनु हुँदैन । महाधिवेशन गराउनु पर्छ समयमा, जेठमा । महाधिवेशन अनन्तकाल सम्म भएन भने स्थानीय निकायमा पार्टीले उम्मेदवार नपाउने स्थिति छ ।
मेरै जिल्लाबाट कार्यकर्ताहरू घण्टीमा गइरहेका छन् भनेर खबर आएको छ । जित्ने वडाध्यक्षहरू गए । अरू पनि जाँदै छन् । अब यस्तो परिस्थितिमा पार्टी छ । अहिले पनि हामी पार्टीलाई निकास दिन्छौँ, कार्यकर्ताको मन बुझेर अगाडि बढ्दैनौँ भने यो पार्टी समाप्त हुन्छ ।’
