• Sunday 29th of November 2026

गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग, पदत्याग गरेर छानबिनमा सघाउन आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख ७ । विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्रीको सुधन गुरुङको ‘नेक्सस’ पुष्टिपछि जेनजी मुभमेन्टले गम्भीर आरोपको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। भट्टसँग साझेदारी रहेको विषय बाहिरिएपछि गृहमन्त्री गुरुङ विवादमा छन्।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस वक्तव्यमा मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यो स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण हुने उल्लेख गरिएको छ।

वक्तव्यमा मन्त्रीको ओहोदामा रहेर आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत रहेको भन्दै निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य रहेको जिकिर गरिएको छ।

जेनजी मुभमेन्टले मन्त्री नियुक्त गर्ने र फेरि हटाउने विषयलाई कच्चा र अमर्यादित खेल नबनाउनसमेतर बालेन शाह नेतृत्वको सरकारसँग आग्रह गरेको छ। क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक विषय भएको भन्दै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्ने वक्तव्यमा उल्लेख छ।

‘यो कुनै साधारण सरकार होइन, यो ७६ जना सहिदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो,’ वक्तव्यमा भनिएको छ, ‘जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई छैन।’ मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै पनि किसिमको सम्झौता वा ढिलासुस्ती स्वीकार्य नहुने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖