• Thursday 8th of October 2026

सुदनले किन गरे यस्तो निर्णय ?


  • धनकुटा खबर
  • .

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्।

लामो समयदेखिको राजनीतिक सक्रियता र वैकल्पिक शक्तिको खोजीमा रहेका किरातीले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै प्रलोपाको यात्राबाट बिदा लिएको जानकारी गराएका हुन्। पार्टी गठन भएको केही महिनामै शीर्ष तहका नेताले पार्टी परित्याग गर्नुलाई नेपाली राजनीतिक वृत्तमा गम्भीरताका साथ हेरिएको छ।

किरातीले आफ्नो फेसबुक पेजमा एक सन्देश जारी गर्दै प्रलोपामा बिताएको पाँच महिनाको समयलाई अनुभवका रूपमा लिएको उल्लेख गरेका छन्। उनले पार्टीका सहकर्मी, नेतृत्व र कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गर्दै औपचारिक सम्बन्ध अन्त्य भए पनि भविष्यमा सम्मान र सद्भाव कायम रहने विश्वास व्यक्त गरेका छन्।

गत मंसिर महिनामा बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियार र सुदन किरातीलगायतका नेताहरूको अगुवाइमा गठित यस पार्टीले वैकल्पिक राजनीतिक शक्तिको दाबी गरेको थियो। यद्यपि, हालै सम्पन्न निर्वाचनमा सोचेअनुरूपको परिणाम प्राप्त गर्न नसकेपछि र पार्टीको आन्तरिक संरचनामा देखिएको अन्योलका कारण नेताहरूबीचको एकतामा दरार आउन थालेको थियो।

पार्टी परित्यागको निर्णयसँगै किरातीको आगामी राजनीतिक कदम के हुने भन्ने विषयमा चर्चा सुरु भएको छ। स्रोतका अनुसार, उनले सुनसरीका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ सँग संवादलाई तीव्रता दिएका छन्।

निर्वाचनयता पार्टीको संरचना र दिशाबारे नेतृत्व तहमा मतभेद चुलिँदै गर्दा किरातीको यो बहिर्गमनले प्रलोपाको भविष्यमाथि प्रश्नचिह्न खडा गरिदिएको छ। माओवादी केन्द्रको पुरानो विरासत र नयाँ वैकल्पिक राजनीतिको प्रयास दुवै ठाउँमा आफूलाई पूर्ण रूपमा अभ्यस्त गराउन नसकेका किरातीले अब फेरि कुन बाटो समात्लान् त्यो भने प्रतीक्षाको विषय बनेको छ।

किरातीले आफ्नो सन्देशमा जनसमुदायको भरोसा र शहीदको अधुरो सपना पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। आगामी दिनहरूमा कठिन परिस्थिति आउन सक्ने आकलन गर्दै उनले जनताको विश्वास र आफूले अंगीकार गरेको राजनीतिक मार्गमा निरन्तर अघि बढ्ने स्पष्ट संकेत गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖