• Thursday 8th of October 2026

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेनले आफ्नै मातहत राख्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह ले हालका लागि गृहमन्त्रालयको जिम्मेवारी आफ्नै मातहत राख्ने भएका छन्। गृहमन्त्री सुदन गुरुङ ले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले उक्त मन्त्रालय आफैंले सम्हाल्ने निर्णय लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गुरुङ विवादित व्यवसायी दीपक भट्टसँग साझेदारी तथा सेयर कारोबारसँग जोडिएको विषयमा विवादमा तानिएका थिए। यसपछि उनले आफूमाथि निष्पक्ष छानबिन होस् भन्दै गृहमन्त्री पदबाट राजीनामा दिएका हुन्।

सरकार गठन भएको २६ दिनमै गृहमन्त्रीको बहिर्गमन भएको हो। गुरुङले केही दिनअघि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। तर उक्त विवरण अस्वाभाविक रहेको भन्दै आलोचना भइरहेको बेला माइक्रो इन्स्योरेन्सलगायत क्षेत्रमा थप लगानी रहेको तथ्य बाहिरिएको थियो।

यस्तै, उनले सञ्चालन गरेको ‘हामी नेपाल’ नामक सामाजिक संस्थामा आएको सहयोग रकम व्यक्तिगत खातामार्फत कारोबार गरिएको आरोप पनि सार्वजनिक भएपछि उनीमाथि चौतर्फी दबाब बढेको थियो। सोही दबाबका बीच उनले बुधबार प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन्।

गुरुङको राजीनामापछि तत्काल नयाँ गृहमन्त्री नियुक्त नभएसम्मका लागि प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफैं सम्हाल्ने भएका हुन्। यसले सरकारको आन्तरिक व्यवस्थापन र सुरक्षा संयन्त्रमा प्रधानमन्त्रीको भूमिका अझ सशक्त बनेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖