• Thursday 8th of October 2026

हिँड्न नसक्नेलाई काँध हाल्ने पो सरकार, हिँड्न नसक्नेको बैशाखी खोस्ने के सरकार : हर्क


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख ११ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमबासी बस्ती खाली गराउने सरकारको तयारीको विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले रवि लामिछानेलाई उनले सुकुमबासी बस्ती भत्काउन रास्वपाकै निर्णय हो त? भनी प्रश्न सोधेका छन् । साम्पाङले सरकार धनीको लागि नभई निमुखाको लागि बन्नुपर्ने बताएका छन् ।

हर्कले लेखेका छन्, ‘रवी जी‘ तपाईँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने रु हिजो मात्रै सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या? जे होस् बचनको पक्का देखियो रास्वपा ।’

साम्पाङले अर्काे फेसबुक पोष्टमा लेखेका छन्, ‘करोडौँको महलमा सुरक्षा फौज लिएर लाखौँको ओछ्यानमा हजारौँको डिनर गरेर आरामको निद्रा सुत्ने शासकलाई के थाहा घर टहरा गुमाएर अनाम नगरको पुलमुनि रातभरि कुकुर बिरालासँगै गन्हाउने ढल सुँघ्दै सुत्नेको पीडा?’

यस्तो छ साम्पाङको फेसबुक पोष्ट

ए धनी शासक… तिम्लाई के थाहा गरीबको पिडा ! तिम्लाई के थाहा गरीब सुकुम्बासीको जीवन र दिनचर्या ! अस्ति चुनावमा धनीपूर्जा बाँड्छु भन्दै भोट मागेको कति चाँडै बिर्सेको ? सुकुम्बासी बनेर बाँच्नुको पिडा के हो यस्तो ??? सम्बिधानले नागरीकलाई ससम्मान बाँच्न पाउने मौलिक हक दिएको छ तर कागजमा ! यथार्थमा त सुकुम्बासीको घरमा डोजर चल्छ ! चरा मुसा र किरा फट्याङ्ग्रालाई समेत बस्न पाउने बासको अधिकार हुन्छ भने मान्छे हुन् ती त ! बर्षौँ पसिना बगाएर कमाएको धेर थोर सम्पत्तिमाथि सरकारी डोजर चल्दा आक्रोशित बन्नु स्वभाविक हो तर पिडितलाई सबैले अपमान गर्दा झन घाऊ दिएर नुन चुक लगाइदिने समाज पनि कति निर्दयी, कति निष्ठुरी ! करोडौँको महलमा सुरक्षा फौज लिएर लाखौँको ओछ्यानमा हजारौँको डिनर गरेर आरामको निद्रा सुत्ने शासकलाई के थाहा घर टहरा गुमाएर अनाम नगरको पुलमूनि रातभरि कुकुर बिराला सङ्गै गह्नाउने ढल सुँघ्दै सुत्नेको पिडा ? करोडौं अरबौँको घोटाला गर्नेहरुलाई नभएर एक मुठा साग बेचेर गुजारा गर्नेलाई शत्रु ठान्ने, निम्न आय भएकालाई जनताले नै तिरेको करबाट किनेको सरकारी लठ्ठी, बुट र बन्दुक देखाउने सरकारलाई मेरो प्रश्न ! तिमी कस्को सरकार र कस्तो सरकार ??? खोइ त चुनावी नारा र बाचाको इज्यत जोगाएको ??? कानुनको काम जनतालाई सताउने होइन जनतालाई बचाउने हुनु पर्दछ तर यो सल्लाह तिमी धनी शासकलाई के थाहा ??? एक रात गरीबको झुपडीमा गएर सुत ! एक छाक गरीबको खाना खाएर बाँच ! एक दिन गरीब सङ्गै ज्याला मजदुरी गरेर हेर ! एक हप्ता गरीबको पीर जिएर हेर अनि बुझ्नेछौ वास्तविक नेपाल र वास्तविक नेपालीको पिडा ! अरुको रोदन र अरुको चित्कारलाई संगीत नठान ! गरीबको पीर र व्यथामा, समस्या त आवश्यकतालाई बुझ्न नसक्ने धनी र ठालु सरकार… तिम्लाई मेरो सुझाव छ ! गरीबको आत्मालाई रुवाएर सत्ता टिके पनि सफलता मिल्नेछैन तिम्लाई किनकि मैले।बुझेको सरकार भनेको धनीको लागि नभएर गरीब र निमुखाको लागि बन्नु पर्छ ! हिँड्न नसक्नेलाई काँध हाल्ने पो सरकार ! हिँड्न नसक्नेको बैशाखी खोस्ने के सरकार !!!!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖