• Tuesday 6th of October 2026

वेपत्ता व्यवसायीलाई निलेको आशंकामा गोहीको पोस्टमार्टम, पेटभित्र भेटिए मानिसका अङ्ग र औँठी


  • धनकुटा खबर
  • .

केपटाउन । दक्षिण अफ्रिकामा एक सन्त्रासपूर्ण घटना सार्वजनिक भएको छ, जहाँ प्रहरीले बेपत्ता भएका ५९ वर्षीय एक व्यवसायीलाई खाएको आशंकामा १५ फिट लामो गोहीलाई हेलिकप्टरमार्फत एयरलिफ्ट गरेको छ। पोस्टमार्टमका क्रममा उक्त गोहीको पेटभित्र ती व्यवसायीकै अवशेष फेला परेपछि आशंका सत्य साबित भएको छ।

गौतेङ निवासी व्यवसायी ग्याब्रिएल बाटिस्टा गत अप्रिल २८ देखि बेपत्ता थिए। आफ्नो होटल र बारमा पुग्नका लागि कोमाती नदीमा बाढी आएको पुलबाट गाडी गुडाउने प्रयास गर्दा उनी बहावमा बगेका थिए। भोलिपल्ट उनको गाडी फेला परे पनि बाटिस्टाको भने अत्तोपत्तो थिएन।

उनको खोजी गर्ने क्रममा सुरक्षाकर्मीले ड्रोनको सहायताले नदीमा एउटा ठूलो गोहीलाई चार दिनसम्म पछ्याएका थिए। गोहीको पेट असामान्य रूपमा फुलिएको र उसले अनौठो ढङ्गले शान्त व्यवहार देखाएको प्रहरीले पत्ता लगायो।

अनुसन्धानमा खटिएका क्याप्टेन जोहान ‘पोट्टी’ पोटगिटरका अनुसार, ‘पेट अत्यधिक फुलिएको हुनुका साथै ड्रोन र हेलिकप्टरको चर्को आवाज आउँदा समेत त्यो गोही हल्लिएको थिएन र नदीमा लुक्ने प्रयास पनि गरेको थिएन।’ यसै आधारमा प्रहरीले उक्त गोहीले भर्खरै केही खाएको निष्कर्ष निकाल्यो।

त्यसपछि करिब ५०० केजी तौल भएको उक्त गोहीलाई गोली हानेर मारियो र एउटा जोखिमपूर्ण अपरेसनमार्फत हेलिकप्टरबाट बाँधेर हावामा उडाइयो। सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा क्याप्टेन पोटगिटर गोहीहरूले भरिएको नदीमा ओर्लेर मृत गोहीको शरीरमा डोरी बाँधिरहेको देखिन्छ। हेलिकप्टरले उठाउँदा गोहीको विशाल शरीर रुखका टुप्पाहरूमाथि हावामा घुमिरहेको देखिन्थ्यो। जोखिमपूर्ण कामबारे पछि प्रतिक्रिया दिँदै पोटगिटरले भने, ‘गोहीको मुख भएको अघिल्लो भागतिर जानु बिल्कुलै सुरक्षित हुँदैन।’

उक्त गोहीलाई पोष्टमार्टमका लागि क्रुगर राष्ट्रिय निकुञ्ज पुर्‍याइयो, जहाँ विभिन्न निकायका विज्ञ टोलीले सामूहिक रूपमा यसको पेट चिरेर हेरे। प्रहरीले गोहीको पेटभित्र मानव अवशेष फेला परेको पुष्टि गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖