बैतडी । बैतडीको शिवनाथ गाउँपालिका स्थित एक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेर जुत्ताको माला लगाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
शिवनाथ गाउँपालिका–४ लोजनीस्थित श्री पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि दुर्व्यवहार गरिएको घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय बैतडीले चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार वैशाख २४ गते बिहान करिब ११ः४५ बजे विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला केही व्यक्तिले प्रधानाध्यापक ओझालाई बाहिर बोलाएका थिए। बाहिर निस्किएपछि उनीमाथि कालोमोसो दलेर जुत्ताको माला लगाई दुर्व्यवहार गरिएको थियो।
घटनाको अनुसन्धानका क्रममा स्थानीय ४२ वर्षीय प्रेमसिंह महता, उनकी ३७ वर्षीया श्रीमती तारा महता, ३८ वर्षीय मोहनसिंह महता र उनकी ३४ वर्षीया श्रीमती सकुन्तला महतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीबाट थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।
