• Wednesday 7th of October 2026

राष्ट्रपतिले सम्बोधन गर्दा गर्दै बीचैमा उठेर हिँडे बालेन


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन शाह उठेर हिँडेको विषयमा प्रतिपक्षी दल नेकपा एमालेले प्रश्न उठाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएका थिए। सामान्यतया राष्ट्रपति सहभागी हुने बैठकमा राष्ट्रपति बाहिरिएपछि मात्र अन्य व्यक्तिहरुलाई बाहिरिन सभामुखले आग्रह गर्दछन्। तर प्रधानमन्त्री शाह भने राष्ट्रपतिले आफैँले हस्तान्तरण गरेको नीति तथा कार्यक्रम वाचन गरिरहँदा बैठकबाट उठेर हिडेँका थिए।

त्यसलगत्तै साँझ ६ बजेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले प्रधानमन्त्री संयुक्त बैठकबाट जुरुक्क उठेर हिँडेकोमा आपत्ति जनाए।

उनले प्रधानमन्त्री उठेर हिँड्नुले नीति तथा कार्यक्रममा अपनत्व भए/नभएको प्रष्ट पार्न माग गरे। साथै, बरालले प्रधानमन्त्री शाहले राष्ट्रिय पोशाक नलगाएको विषयमा पनि प्रश्न उठाए।

‘राष्ट्रिय पोशाकको परिपालन गर्नु पर्छ कि पर्दैन। सभामुखमार्फत रूलिङ माग गर्दछु,’ बरालले भने, ‘राष्ट्रपतिले नीति तथा कार्यक्रम सम्बोधन गर्नु भएको छ। बीचमै बहिष्कार गरेर हिँडेको हामीले देख्यौं।

बरालले अपनत्वमा प्रश्न उठाएपछि विपक्षी दलका सांसदहरूले टेबल ठोकेर समर्थन जनाएका थिए।

त्यस्तै, राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्रीले अर्का मन्त्रीसँग लगातार संवाद गरेको भिडिओ रेकर्डबाट हटाउन समेत बरालले माग गरे।
सभामुख डोलप्रसाद अर्यालले उक्त विषयमा बुझ्न सचिवालयलाई निर्देशन दिएका छन्।

प्रतिनिधि सभाको साँझ ६ बजेको बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम टेबल गरेका थिए। तर सम्बोधनको प्रति टेबल गर्दा प्रधानमन्त्री शाह एक शब्द पनि बोलेनन्। महासचिव पद्मप्रसाद पाण्डेयको सिट अगाडि लगेर सम्बोधनको प्रति राखिदिए र आफ्नो कुर्सीमा पनि नगई बैठकबाट बाहरिए।

प्रधानमन्त्री शाह बैठक कक्षबाट फटाफट बाहिरिएको देखेपछि सांसदहरूबीच हाँसो फैलिएको थियो। सांसदहरूको बीचमा हाँसो फैलिएपछि सभामुख डोलप्रसाद अर्यालले समेत बैठक अगाडि बढाएनन्। केही बेर रोकिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले कुर्सीबाट उठेरै प्रधानमन्त्री बाहिरिएको ढोकातर्फ हेरेका थिए। विपक्षी सांसदहरूले हाँसोको पात्र बनाएको देखेपछि सभापति रवि लामिछाने लगायतका अन्य सांसदहरूले असहज महसुस गरेका थिए।

चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएका शाहले प्रतिनिधि सभाको बैठकमा अहिलेसम्म सम्बोधन गरेका छैनन्।

उनले संसदीय व्यवस्था र परम्परामा खासै रूचि देखाएका छैनन्। संसदको पहिलो अधिवेशनमा प्रधानमन्त्री शाह एक शब्द पनि बोलेका थिएनन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक समेत दलको नेताको अनुपस्थितिमै बसेको थियो। उनले पार्टीका सांसदहरूलाई दलको बैठकमा समेत सम्बोधन गरेका छैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖