धनगढी । मादक पदार्थ सेवन (मापसे) गरेर सरकारी गाडी चलाउँदा दुर्घटना गराएको आरोपमा कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले धनगढी उपमहानगरपालिकालाई ३५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।
गत शनिबार राति मेयर भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको सरकारी गाडी धनगढी–अत्तरिया ६ लेन सडकखण्डको गेटा क्षेत्रमा रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो। मापसेको अवस्थामा गाडी चलाउँदा नियन्त्रण गुमेपछि उक्त क्षति भएको बताइएको छ।
धनगढी उपमहानगरपालिकाका प्राविधिकले गरेको मूल्याङ्कनअनुसार रेलिङ मर्मतका लागि करिब ३५ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। सोही आधारमा क्षतिपूर्ति रकम मेयर भट्टसँग असुल गर्ने तयारी गरिएको हो।
उपमहानगरपालिकाले नगर प्रहरीमार्फत रकम असुल गर्ने प्रयास गरे पनि मेयर भट्टले आफूले नै मर्मत गरिदिने बताएका छन्।
यसअघि ट्राफिक प्रहरीले उनलाई मापसे गरी सवारी चलाएको र लापरबाही गरेको भन्दै कुल १ हजार रुपैयाँ जरिवाना तिराएर गाडी छाडेको थियो।
धनगढी उपमहानगरले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने जो–कोहीबाट क्षतिपूर्ति असुल गर्दै आएको जनाएको छ।
