• Tuesday 6th of October 2026

रहस्यमय ‘खर्बुजा मृत्यु’ प्रकरण : चार जनाको हत्या, दुर्घटना कि आत्महत्या ?


  • धनकुटा खबर
  • .

मुम्बई । भारतको मुम्बईमा एकै परिवारका चार सदस्य मृत फेला परेको घटनाले तीन सातापछि पनि रहस्यकै रूप लिएको छ। अनुसन्धान जारी रहे पनि घटनाको वास्तविक कारणबारे प्रहरीले अझै स्पष्ट निष्कर्ष निकाल्न सकेको छैन।

अप्रिल २५ मा मुम्बईको पायधोनी क्षेत्रमा रहेको आफ्नै घरमा अब्दुल्लाह डोकडिया, उनकी श्रीमती नसरिन तथा दुई छोरी आयशा र जैनब मृत अवस्थामा फेला परेका थिए।

घटनापछि भारतीय सञ्चारमाध्यमले उनीहरूले मृत्युअघि खाएको खर्बुजालाई केन्द्रमा राख्दै यसलाई ‘खर्बुजा मृत्यु’ भनेर चर्चा गरेका थिए। फलफूल विषाक्त भएको वा मिसावट भएको आशंकामा समाचारहरू प्रकाशित भएपछि बजारमा खर्बुजाको मागसमेत घटेको बताइएको छ।

मुम्बई प्रहरीले भने पछिल्लो अनुसन्धानमा परिवारको मृत्युको कारण ‘जिङ्क फस्फाइड’ नामक विषालु रसायन रहेको जनाएको छ। यो मुसा मार्न प्रयोग गरिने घातक पदार्थ हो। प्रहरीका अनुसार मृतकहरूको शरीरका विभिन्न अंग तथा खर्बुजाको अवशेषमा उक्त रसायन भेटिएको छ।

मुम्बईस्थित फोरेन्सिक साइन्स ल्याबोरेटरीका निर्देशक डा. विजय ठाकरेका अनुसार मृतकहरूको कलेजो, मिर्गौला, पेटभित्रको सामग्री र अन्य अंगहरूमा जिङ्क फस्फाइड फेला परेको छ। खर्बुजाको नमुनामा पनि सोही रसायन पुष्टि भएको उनले बताएका छन्।

प्रहरीका अनुसार घटनाको रात परिवारले आफन्तहरूलाई घरमा बोलाएर भोज दिएका थिए। पाहुनाहरू फर्किएपछि परिवारले राति खर्बुजा खाएको र त्यसपछि उनीहरूलाई बान्ता, पखाला तथा सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो। अस्पताल पुर्‍याइए पनि चारै जनाको मृत्यु भएको थियो।

घटनापछि प्रहरीले खर्बुजासहित अन्य खाद्य सामग्री परीक्षणका लागि जफत गरेको थियो। अनुसन्धानमा संलग्न अधिकारीहरूले अन्य खानेकुरामा विष नभेटिएको तर खर्बुजामा भने जिङ्क फस्फाइड भेटिएको पुष्टि गरेका छन्।

प्रहरीले हालसम्म हत्या, दुर्घटना वा आत्महत्यामध्ये कुनै पनि सम्भावनालाई नकारेको छैन। खर्बुजामा विष कसरी मिसियो भन्ने विषय अझै रहस्यमै रहेको बताइएको छ।

अनुसन्धानका क्रममा परिवारका आफन्त, छिमेकी, साथीभाइ र सहकर्मीसहित दर्जनौँ व्यक्तिसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖