काठमाडौं । चन्द्रागिरि नगरपालिका–३ थानकोट स्थित खरिबोट क्षेत्रमा गएराति चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ।
हत्या हुनेमा महोत्तरी घर भएका २५ वर्षीय जाकिर मन्सुरी रहेका छन्। उनलाई नाताले सालाभिना पर्ने महोत्तरीकै अन्दाजी ३८ वर्षीय समी अहमद ले चक्कु प्रहार गरेका थिए।
घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति करिब साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
चक्कु प्रहार गर्ने अहमदलाई प्रहरी वृत्त थानकोट ले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराई ले जानकारी दिएका छन्।
मन्सुरीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका क्रममा धारिलो हतियार (तरकारी काट्ने चक्कु) प्रहार गरिएको खुलेको छ।
