काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङ बेसीमा कुलो निर्माणको ठेक्का विवादका कारण दुई दाजुभाइको हत्या भएको खुलेको छ । हत्या आरोपमा प्रहरीले सोही गाउँका धनबहादुर तामाङ उर्फ धने र सोमबहादुर तामाङ उर्फ माइला पक्राउ गरेको छ ।
वैशाख २९ गते घरबाट कुलो निर्माणको कामका लागि निस्किएका ४३ वर्षीय समराज तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङ साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेका थिए । त्यसको भोलिपल्ट वैशाख ३० गते बिहान किम्ताङ खोलाको किनारमा ढुंगाले छोपिएको अवस्थामा दुवैको शव फेला परेको थियो ।
प्रहरीका अनुसार घटनामा भरुवा बन्दुक प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या आरोपित धने र माइला वैशाख ३१ गते धादिङको खनियाबास गाउँपालिका–५ बाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार कुलोको पेटी निर्माणसम्बन्धी ठेक्काको विषयमा विवाद बढ्दै जाँदा घटना भएको हो । मृतक दाजुभाइ यसअघि पनि गाउँमा विभिन्न निर्माण ठेक्कामा संलग्न रहँदै आएका थिए भने पक्राउ परेका दुवै मजदुरी गर्ने व्यक्ति हुन् ।
प्रहरी अनुसन्धानअनुसार आरोपितहरूले कुलो निर्माणमा काम मागेका थिए । तर ठेक्का अन्य व्यक्तिले पाइसकेको भन्दै समराज र सूर्यमानले काम दिन नसक्ने बताएपछि विवाद चर्किएको थियो । उनीहरूबीच पुरानो मनमुटावसमेत रहेको प्रहरीको भनाइ छ ।
घटनाको दिन सुरुमा फोनमा भनाभन भएको र त्यसपछि समराज र सूर्यमान मोटरसाइकल लिएर खोलातर्फ गएको प्रहरीले जनाएको छ । बाटोमा धने र माइला भरुवा बन्दुक लिएर कुरेर बसेको अवस्थामा रहेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार सूर्यमानको छातीमा गोली लागेको थियो भने समराजको टाउको पछाडिको भागमा बन्दुकको बटले प्रहार गरिएको देखिएको छ । डीएसपी लामाले घटनामा प्रयोग गरिएको बन्दुकसमेत बरामद गरिएको जानकारी दिए ।
घटनास्थलबाट प्रहरीले तीनवटा भरुवा बन्दुक, एक खुकुरी र एउटा मोटरसाइकल बरामद गरेको छ । तीमध्ये दुईवटा बन्दुक आरोपी पक्षको र एउटा मृतक दाजुभाइले बोकेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
हत्यापछि आरोपीहरूले शवलाई खोलाको किनारमा लगेर ढुंगाले छोपेर राखेको प्रहरीको भनाइ छ । घटनामा अन्य चार जनालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो । तर संलग्नता नदेखिएपछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।
मृतक दाजुभाइको शव त्रिशूली अस्पतालमा पोस्टमार्टम गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
