चितवन । गर्मी मौसमसँगै अण्डा उत्पादन घटेपछि बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आइतबारदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो।
सङ्घका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५१५ र मध्यम अण्डाको मूल्य रु ४८५ फार्मदर कायम गरिएको छ। यसअघि ठूलो अण्डाको मूल्य रु ४८५ तथा मध्यम अण्डाको मूल्य रु ४३५ रहेको थियो।
सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा रु २५ कायम गरिएको छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले गर्मी मौसमका कारण अण्डा उत्पादन घट्नु, कुखुरामा विभिन्न रोग देखिनु तथा किसान कुखुरापालन व्यवसायबाट पलायन हुँदै जानुले बजारमा अण्डाको अभाव सिर्जना भएको बताए। उनका अनुसार पछिल्ला दिनमा बिदा र पर्यटकको चहलपहल बढेसँगै अण्डाको खपतसमेत बढेको छ।
अध्यक्ष पोखरेलले अण्डाको लागत मूल्य प्रतिगोटा रु १९ रुपैयाँ १२ पैसा पर्ने भए पनि किसानले अझै लागतअनुसारको मूल्य पाउन नसकेको बताए। विभिन्न कृषि फार्मले निर्धारण गरेको मूल्यलाई आधार बनाएर सङ्घले समर्थन मूल्य सार्वजनिक गर्ने गरेको उनको भनाइ छ।
सङ्घले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न पोल्ट्री तथा एग्रो फार्महरूले ठूलो अण्डाको मूल्य प्रतिपेटी रु तीन हजार ९५० देखि रु तीन हजार ९८० सम्म र मध्यम अण्डाको मूल्य रु तीन हजार ७५० देखि रु तीन हजार ७८५ सम्म कायम गरेका छन्। एउटा पेटीमा सात क्रेट अर्थात् २१० वटा अण्डा रहने जनाइएको छ।
व्यवसायीहरूका अनुसार लागत मूल्य समयमा नपाउँदा पछिल्ला वर्षहरूमा धेरै किसान कुखुरापालन व्यवसायबाट बाहिरिन थालेका छन्। उत्पादन घट्नु, रोगको प्रकोप बढ्नु तथा बैंक ऋणको भारले व्यवसाय सञ्चालनमा थप चुनौती सिर्जना भएको उनीहरूको भनाइ छ ।
