काठमाडौं । सुन्धारा कारागारबाट फरार भएकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असन क्षेत्रबाट पक्राउ गरेको हो ।
जन्मकैदको सजाय भुक्तान गरिरहेकी तामाङ शुक्रबार राति करिब १ बजे कारागारबाट भागेकी थिइन् । कारागार प्रशासनका अनुसार उनले भुइँमा विभिन्न वस्तु ओछ्याएर पर्खाल नाघी फरार भएकी थिइन् ।
तामाङ चोरी तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेकी थिइन् ।
यसअघि जेनजी आन्दोलनका क्रममा पनि उनी कारागारबाट फरार भएकी थिइन् । त्यतिबेला दुई महिनापछि पक्राउ परेकी तामाङ यसपटक भने फरार भएको तीन दिनमै नियन्त्रणमा आएकी हुन् ।
