दार्चुला । दार्चुलामा एक विद्यालयका प्रधानाध्यापक मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको व्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामी सोमबार बिहान विद्यालयकै आवासमा मृत भेटिएको प्रहरीले जनाएको छ।
दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतका अनुसार धामी बिहान करिब ६ बजेतिर मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे जानकारी पाएपछि स्थानीय प्रहरी चौकीबाट पुगेको टोलीले घटनास्थल सुरक्षित राखेको छ भने जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार मृत फेला पर्नुअघि धामीले सामाजिक सञ्जाल फेसबुकमा मृत्यु सम्बन्धी लामो स्टाटस लेखेको खुलेको छ। उक्त विषयलाई समेत अनुसन्धानको दायरामा राखिएको प्रहरीले जनाएको छ।
