• Tuesday 6th of October 2026

श्रीमान बिदेशमा रहेकी काजलको मदिरा सेवन पछिको विवादमा मृत्यु


  • धनकुटा खबर
  • .

शनिश्चरे । झापाको अर्जुनधारामा मदिरा सेवनपछि भएको विवादको क्रममा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–८ कुशलचोक निवासी २९ वर्षीया काजल बस्नेत सुवेदी रहेकी छन् । उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबईमा रहेको जनाइएको छ ।

जेठ ४ गते राति करिब ९ः१५ बजे एम्स बोर्डिङ स्कूलको पश्चिमतर्फ रहेको खुल्ला चौरमा काजल र अर्जुनधारा ५ कञ्चनबाडी निवासी २४ वर्षीय किरण गौतम अत्यधिक मदिरा सेवन गरी बसेका थिए । सोही क्रममा उनीहरूबीच कुनै विषयमा विवाद हुँदा किरणले काजललाई धकेलेका थिए । धकेल्ने क्रममा काजल चौरको बीच भागमा सिमाना छुट्याउन बनाइएको कङ्क्रिटको प्लममा ठोक्किँदा टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी थिइन् ।

बेहोस अवस्थामा रहेकी उनलाई स्थानीयबासीले उद्धार गरी उपचारका लागि स्थानीय शंकर अस्पताल पुर्‍याएका थिए । पछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडहुँदै प्रादेशिक मेची अस्पताल भद्रपुर लगिएको थियो ।

उनको उपचारकै क्रममा आज बिहान ४ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आरोपित किरण गौतमलाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖