• Wednesday 7th of October 2026

तीन सय प्रतिशतसम्म कर तिरेर गाडी किनिसकेपछि नम्बर प्लेटका लागि पुनः १५ लाख असुल्ने दलालहरू नर्क जाऊन् : महावीर


  • धनकुटा खबर
  • .

काठमाडौं, जेठ ७ । प्रतिनिधि सभा सदस्य महावीर पुनले ट्याक्सी खरिद र कालो नम्बर प्लेट वितरणमा भइरहेको चरम बेथिति र भ्रष्टाचारप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उनले ट्याक्सी व्यवसायी र चालकहरूले भोग्नुपरेको गम्भीर समस्याबारे सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

एक ट्याक्सी चालकको दुःखद् कथा सुनेपछि आफूलाई पहिलेका सरकारहरूसँग निकै रिस उठेको पुनले उल्लेख गरेका छन् । हाल नेपालमा एउटा साधारण ट्याक्सी किन्न मात्रै ३० देखि ३५ लाख रुपैयाँ लाग्ने र त्यसपछि कालो नम्बर प्लेट (सार्वजनिक रूपमा चलाउने अनुमति) पाउन थप १५ लाख रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरेका छन्।

पुनले राज्यलाई ३०० प्रतिशतसम्म कर तिरेर गाडी किनिसकेपछि पनि नम्बर प्लेटका लागि पुनः १५ लाख रुपैयाँ अतिरिक्त असुलिनुलाई “ज्यादै ठुलो भ्रष्टाचार” को संज्ञा दिएका छन् ।

यातायात क्षेत्रमा व्याप्त यस्तो अवैध असुली र सिन्डिकेटका पापीहरूको मिलोमतोमा नेपाल सरकार समेत चुप लागेर बसेको भन्दै उनले “त्यसो गर्ने दलालहरू नर्क जाऊन् । यसमा सुधार हुनै पर्छ ।” उल्लेख गरेका छन् ।

सर्वसाधारण र निम्न वर्गका श्रमजीवी चालकहरूलाई मर्कामा पार्ने यस्ता सिन्डिकेट र दलालतन्त्रलाई तत्काल रोक्न र यस व्यवस्थामा व्यापक सुधार ल्याउन उनले जोडदार माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖