• Tuesday 6th of October 2026

काठमाडौँबाट छुटेको बस पल्टियो, ३८ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकमा मंगलबार बिहान बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।

काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ। घाइतेमध्ये ३५ जनालाई थप उपचारका लागि भैरहवास्थित विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुई घाइतेको अवस्था गम्भीर छ भने १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य छ।

गम्भीर घाइतेमध्ये बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक छन्।

बस चालक सुर्खेतका ३० वर्षीय डिल्ली प्रसाद दाहाल, सहचालक राजन बुढासहित अधिकांश यात्रुको शरीरका विभिन्न भागमा चोट लागेको छ।

दुर्घटनामा घाइते भएका यात्रु सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, बाँके, झापा, काठमाडौँ, ललितपुर, ओखलढुंगालगायत जिल्लाका बासिन्दा छन्।

प्रहरीले १२ जना घाइतेलाई आफ्नै सवारीमार्फत उद्धार गरेको थियो भने अन्यलाई एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको जनाएको छ।

दुर्घटनापछि सकुशल रहेका अन्य यात्रुहरुलाई गन्तव्यतर्फ पठाइएको छ।

बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖