• Tuesday 6th of October 2026

यि हुन् रतुवा खोलामा बोराभित्र मृत फेला परेकी युवती


  • धनकुटा खबर
  • .

दमक । झापाको गौरादह–५ र दमक–१० को सीमास्थित रतुवा खोलाको पुलमुनि बोराभित्र फेला परेको युवतीको शवको पहिचान खुलेको छ।
प्रहरीका अनुसार मृतक दमक नगरपालिका –८ बसन्तटोल निवासी २१ वर्षीया रमा तिवारी (रोमा) रहेको पुष्टि भएको हो। मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शवको सनाखत गरेका जनाइएको छ।

प्रारम्भिक अनुसन्धानबाट रमा तिवारी जेठ १३ गते राति करिब ९ः३० बजे घरबाट निस्किएकी र त्यसपछि सम्पर्कविहीन भएको खुलेको प्रहरीले जनाएको छ।

शनिबार बिहान स्थानीयवासीले रतुवा खोलाको पुलमुनि बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोली घटनास्थलमा पुगेर शवको उद्धार तथा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले हत्या, आत्महत्या वा अन्य सम्भावित कारणबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। शव परीक्षणका लागि पठाइएको र घटनासम्बन्धी थप तथ्यहरू अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

यस घटनाले स्थानीय क्षेत्रमा त्रास र चासो बढाएको छ भने सत्यतथ्य पत्ता लगाउन प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖