दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबु–छोराको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
सोमबार बिहान करिब ५ः३० बजे तुलसीपुरस्थित गुल्म चोकमा रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा तीन जना सवार मोटरसाइकलका चालक लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका बाबु–छोरालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित अस्पताल पठाइएको थियो। उपचारकै क्रममा बिहान ९ः४० बजे मिनराज र १०ः०२ बजे मनोजलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा मनोजकी ३४ वर्षीया श्रीमती अनुसा नेपाली घाइते भएकी छन्। उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जानकारी दिए।
प्रहरीका अनुसार नेपाली परिवार बिदाको अवसरमा तुलसीपुर–६ स्थित ससुराली आएका थिए। छोरालाई विद्यालय पठाउनुपर्ने भएकाले सोमबार बिहानै घर फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्।
घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले बताएका छन्।
