दैलेख, जेठ २० — दैलेखमा मादक पदार्थ सेवनपछि भएको पारिवारिक विवाद उग्र बन्दा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन्।
जिल्लाको नारायण नगरपालिका–९ सालखर्कका ७० वर्षीय कबिराज थापाले आफ्ना ४५ वर्षीय छोरा यादव थापामाथि धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
मंगलबार राति करिब ११ बजेतिर बाबु–छोराबीच पारिवारिक विषयलाई लिएर सामान्य विवाद भएको थियो। दुवै जना मादक पदार्थ सेवन गरेको अवस्थामा रहेका कारण विवाद चर्किँदै जाँदा कबिराजले रिसको आवेगमा घरमा रहेको खुर्पाले छोरा यादवमाथि प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
खुर्पा प्रहारबाट गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइएको थियो। तर, शरीरमा गम्भीर चोट र अत्यधिक रक्तश्राव भएका कारण चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले हत्यामा संलग्न कबिराज थापालाई घटनास्थलबाटै पक्राउ गरेको छ। प्रहरीले घटनामा प्रयोग गरिएको रगत लतपतिएको खुर्पा समेत बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
