महोत्तरी, जेठ २० — महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट एक दम्पती गम्भीर घाइते भएका छन्।
गएराति सोनमा गाउँपालिका–३ खखनास्थित राम विश्वास यादवको घरमा लुटपाट गर्न प्रवेश गरेको डाँका समूहले गोली चलाउँदा उनका छोरीज्वाइँ घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको अपरिचित समूहले लुटपाट गर्ने क्रममा प्रतिवाद भएपछि गोली प्रहार गरेको हो। घटनामा राम विश्वास यादवका २७ वर्षीय ज्वाइँ ईश्वर यादव र २२ वर्षीया छोरी किरण यादव घाइते भएका छन्।
गोली लागेर गम्भीर घाइते भएका दुवै जनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे बुधबार बिहान मात्रै जानकारी पाएको जनाएको छ। घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको डीएसपी गोलेले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार मंगलबार राति घरभित्र प्रवेश गरी लुटपाट गर्न थालेको समूहसँग परिवारका सदस्यले प्रतिवाद गरेपछि डाँकाहरूले गोली प्रहार गरेका थिए। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न खोजी अभियान तीव्र बनाएको जनाएको छ।
