• Tuesday 6th of October 2026

एक महिनादेखि सम्पर्कविहीन सशस्त्र प्रहरीका असई युवतीसहित मृत फेला


  • धनकुटा खबर
  • .

काभ्रे । सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) शक्ति राम र एक युवती काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार असई राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरीको शव बुधबार बिहान वन क्षेत्रमा दुई फरक रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण, काभ्रेमा कार्यरत राम गत वैशाख १९ गते दुई दिनको बिदा लिएर घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि निवेदन दिएको थियो। सशस्त्र प्रहरीले उक्त निवेदन वैशाख २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पठाएको जनाएको छ।

यस्तै, शर्मिला चौधरीका भाइ रञ्जित चौधरीले पनि वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएका थिए। प्रहरीका अनुसार शर्मिला वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रे आएकी थिइन्।

खोजीका क्रममा दुवै जनाको मोबाइल सम्पर्कविहीन रहेको र शर्मिलाको मोबाइलको अन्तिम लोकेसन काभ्रेपलाञ्चोक क्षेत्रमा देखिएको प्रहरीले जनाएको छ।

बुधबार स्थानीयवासीले वन क्षेत्रमा दुई रुखमा महिला र पुरुषको जस्तो देखिने सडेगलेका कंकाल झुन्डिएको जानकारी प्रहरीलाई दिएपछि प्रहरी चौकी पाँचखालबाट खटिएको टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा ती शव शक्ति राम र शर्मिला चौधरीको रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

दुवै शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖