• Tuesday 6th of October 2026

भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या, बीचमा परेका ८ वर्षीय छोरा घाइते


  • धनकुटा खबर
  • .

भक्तपुर । भक्तपुर नगरपालिका–१० छालिङ रोडस्थित आर्मी ब्यारेक नजिक डेरा गरी बस्दै आएका एक व्यक्तिले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।

बुधबार बेलुका घरायसी विवादका क्रममा ३८ वर्षीय विदुर विश्वकर्माले ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्मामाथि खुकुरी प्रहार गरेका हुन्। गम्भीर घाइते भएकी सलिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना रोक्न र झगडा छुट्याउने प्रयास गर्ने क्रममा उनीहरूका ८ वर्षीय छोरा त्रिशल विश्वकर्मासमेत घाइते भएका छन्। घाइते बालकलाई तत्काल भक्तपुर अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ।

बालकलाई आवश्यक संरक्षणका लागि जिल्ला प्रहरी परिसर भक्तपुरको बालमैत्री कक्षमा राखिएको प्रहरीले जनाएको छ।

घटनालगत्तै जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा प्रयोग भएको खुकुरी बरामद गर्नुका साथै अभियुक्त विदुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖