• Tuesday 6th of October 2026

एक सातापछि जीवित भेटिए दावा शेर्पा, सगरमाथामा चमत्कारिक उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौँ । सगरमाथा क्षेत्रमा एक सातादेखि बेपत्ता रहेका नेपाली आरोही दावा शेर्पा जीवितै फेला परेका छन्। उच्च हिमाली क्षेत्रमा हराएपछि उनको जीवित उद्धारको सम्भावना अत्यन्त न्यून मानिएको थियो। तर उनले सबै अनुमानलाई गलत सावित गर्दै जीवन रक्षाको असाधारण संघर्ष जितेका छन्।

दावा शेर्पा गत मे २९ देखि सगरमाथाको क्याम्प–३ माथिको क्षेत्रमा सम्पर्कविहीन भएका थिए। उनी पोल्यान्डका एक आरोहीलाई मार्गदर्शन गर्दै शिखर आरोहणपछि फर्कने क्रममा हराएका थिए। उनको खोजीका लागि विभिन्न प्रयास भए पनि केही दिनसम्म कुनै ठोस जानकारी प्राप्त हुन सकेको थिएन।

बिहीबार बिहान Sagarmatha Pollution Control Committee (एसपीसीसी) को फोहोर व्यवस्थापन टोलीले उनलाई क्र्याम्पोन प्वाइन्ट नजिक फेला पारेको जनाएको छ। टोलीका सदस्यहरूले उनलाई आधार शिविरतर्फ घिस्रिँदै आएको अवस्थामा देखेका थिए।

प्रारम्भिक जानकारीअनुसार उनको हातखुट्टामा फ्रस्टबाइट भएको छ र उनी अत्यन्त कमजोर अवस्थामा रहेका छन्। उपचारका लागि उनलाई सुरक्षित स्थानतर्फ लगिएको बताइएको छ।

अक्सिजनको कमी, अत्यधिक चिसो र प्रतिकूल मौसमबीच उनले करिब एक सातासम्म जीवित रहँदै एक्लै तल झर्न सफल भएको घटनालाई आरोहण समुदायले दुर्लभ तथा चमत्कारिक घटनाका रूपमा लिएको छ। सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय आरोहण समुदायमा यो घटनालाई “मिरेकल अन एभरेस्ट” भनेर चर्चा गरिएको छ।

दावा शेर्पाको स्वास्थ्य अवस्था, उद्धारपछिको उपचार तथा उनी कसरी यति लामो समयसम्म जीवित रहन सफल भए भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖