काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी स्थिर राजनीतिक व्यवस्थाको पक्षमा रहेको बताएका छन्।
भारतको पाँचदिने भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले प्रधानमन्त्री बन्ने चर्चा र हल्लाबारे प्रश्न गरेका थिए। त्यसको जवाफमा उनले पार्टीले निर्वाचनअघि सार्वजनिक गरेको प्रतिबद्धता सम्झन आग्रह गरे।
“म केही भन्न चाहन्नँ। निर्वाचनअघि हामीले लेखेको कागज एक पटक पढ्न आग्रह गर्न चाहन्छु,” उनले भने।
लामिछानेले नेपाली जनताले रास्वपालाई स्थिरता र सुशासनको अपेक्षासहित मतदान गरेको उल्लेख गर्दै पार्टी आफ्नो प्रतिबद्धताबाट विचलित नहुने बताए।
उनले भने, “हामी अस्थिरताको पक्षमा छैनौँ। हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन्। हामीले बोलेर र लेखेर गरेको वाचाप्रति अडिग छौँ र अडिग रहिरहनेछौँ।”
सभापति लामिछानेले प्रधानमन्त्री बन्ने विषयमा चलिरहेका चर्चा र अड्कलबाजीबारे टिप्पणी गर्न चाहेनन्। साथै, अरूले बनाएका धारणा वा अनुमानप्रति आफू केन्द्रित नरहेको पनि उनले स्पष्ट पारे।
