बुटवल, जेठ २४ — कपिलवस्तु क्षेत्र नं. ३ का पूर्व सांसद तथा नेकपा (एमाले) नेता मङ्गलप्रसाद गुप्ताको निधन भएको छ।
भारतको Mमेदान्त अस्पतालमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिएका छन्।
८० वर्ष नाघेका गुप्ता लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय थिए। उनी २०३९ सालदेखि नै विभिन्न संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा समेत पटक–पटक निर्वाचनमा प्रतिस्पर्धा गरेका गुप्ताले पछिल्लो पटक २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट कपिलवस्तु क्षेत्र नं. ३ बाट विजयी हासिल गरेका थिए।
एमाले कपिलवस्तुका अनुसार गुप्ताको पार्थिव शरीर मंगलबार कपिलवस्तुको कृष्णनगर ल्याइनेछ। बुधबार अन्त्येष्टि गर्ने तयारी गरिएको जिल्ला अध्यक्ष खनालले बताएका छन्।
स्वर्गीय गुप्ताका श्रीमती तथा चार छोरा रहेका छन्। उनको निधनप्रति राजनीतिक, सामाजिक तथा स्थानीय तहमा शोक व्यक्त गरिएको छ।
