• Tuesday 6th of October 2026

स्पा सेन्टरमा नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाएको आरोपमा सञ्चालिका पक्राउ


  • धनकुटा खबर
  • .

ललितपुर, जेठ २४ — ललितपुरको सानेपामा सञ्चालन भइरहेको एक स्पा सेन्टरमा कार्यरत नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सानेपाको अरुण थापा चोकस्थित ‘शुकल्प स्पा एण्ड थेरापी’ की सञ्चालिका सुमन थापा मगर (सुमन कुमाल) रहेकी छन्। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ सानेपामा बस्दै आएकी कुमालले आफ्नो स्पा सेन्टरमा कार्यरत एक नाबालिकालाई विभिन्न प्रलोभनमा पारेर ग्राहकसँग अनैतिक कार्य गर्न बाध्य बनाएको आरोप लागेको छ।

स्पामा आउने ग्राहकहरूको इच्छाअनुसार नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाइँदै आएको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली स्पा सेन्टरमा पुगेको थियो। छापामार क्रममा प्रहरीले नाबालिकाको उद्धार गरेको र सञ्चालिका कुमाललाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकी कुमालमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत ललितपुर बाट पाँच दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖