• Tuesday 6th of October 2026

‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण: युवतीसहित थप तीन जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । कुमार थापा मगरलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६ को पैंयुटार क्षेत्रमा घरायसी विवादका क्रममा ३८ वर्षीय कुमार थापा मगरले आफ्नी श्रीमती ईश्वरी भुजेलमाथि धारिलो हतियार (चक्कु) प्रहार गरेका थिए।

गम्भीर घाइते भएकी ईश्वरीलाई प्रारम्भिक उपचारका लागि तारकेश्वर सिटी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल रेफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले कुमार थापा मगरलाई सोही राति नियन्त्रणमा लिएको थियो। साथै घटनामा संलग्न रहेको आरोपमा विक्रम थापा मगर, पुजन थापा क्षेत्री र प्रतिक्षा आचार्यलाई पनि पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार चारै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीहरूमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अदालतबाट अन्तिम फैसला नआएसम्म पक्राउ परेका व्यक्तिहरू कानुनी रूपमा अभियुक्त हुन्, दोषी ठहर भइसकेका होइनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖