विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको प्रथम अधिवेशनबाट मोरङका चन्द्र राई प्रदेश सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि सरिन तामाङ, चन्द्रकुमार गौली र खगेन्द्र कटुवालसँग प्रतिस्पर्धा गर्दै राई विजयी भएका हुन्।
निर्वाचनमा खसेको ७०२ मतमध्ये राईले २८० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी सरिन तामाङले १४१ मत प्राप्त गरिन् भने चन्द्रकुमार गौलीले २७ र खगेन्द्र कटुवालले ४१ मत पाएका छन्।
यसैबीच निर्वाचनमा पराजित भएपछि सरिन तामाङले राजनीतिबाट अलग हुने घोषणा गरेकी छन्। चन्द्र राईको विजय सुनिश्चित भएपछि तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजनीतिक यात्रा टुंगिएको संकेत गर्दै लेखेकी छन्, “आजबाट राजनीतिक बिट मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।”
कोशी प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनमा उल्लेख्य सहभागिता देखिएको थियो। यद्यपि निर्वाचन समितिले भने अन्तिम आधिकारिक मतपरिणाम सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।
