काठमाडौँ । प्रहरीले काठमाडौँको बौद्ध क्षेत्रबाट गुण्डागर्दी गतिविधिमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका घर भएका श्याम लामा रहेका छन्। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार लामा बौद्ध, थली तथा मुलपानी क्षेत्रमा विभिन्न आपराधिक तथा गुण्डागर्दी गतिविधिमा संलग्न रहेको आरोपमा निगरानीमा रहेका थिए।
प्रहरीका अनुसार श्याम लामाविरुद्ध २०७० सालपछि विभिन्न चार वटा मुद्दामा अनुसन्धान भएको अभिलेख भेटिएको छ। उनीमाथि अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहारसम्बन्धी तीन वटा मुद्दामा यसअघि पनि अनुसन्धान गरिएको एसपी भट्टराईले जानकारी दिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
