अर्घाखाँची । कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय तोकिएपछि २२ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार साविक सिमलपानी गाविस–९ हाल शितगंगा नगरपालिका–१३ निवासी ५५ वर्षीय लुम बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो।
सुनारले आफ्नी २५ वर्षीया श्रीमती मीना सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा अर्घाखाँची जिल्ला अदालतबाट ५ वर्ष कैद सजाय पाएका थिए। उक्त फैसला सदर गर्दै सर्वोच्च अदालतले समेत उनलाई १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो।
फैसलापछि कैद भुक्तानका क्रममा कपिलवस्तु कारागारमा रहेका सुनार २०६१ साल माघ २५ गते कारागारभित्र भएको आक्रमणको घटनापछि फरार भएका थिए। उनीमाथि उक्त मुद्दामा अझै ८ वर्ष ७ महिना ८ दिन कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
फरार प्रतिवादी आफ्नै घरवरपर लुकिछिपी बसिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक दीपक सिंह विष्टको नेतृत्वमा खटिएको टोलीले उनलाई शितगंगा नगरपालिका–४ भेडामारा क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका सुनारलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अर्घाखाँची जिल्ला अदालतमा उपस्थित गराइएको तथा अदालतको आदेशअनुसार बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय अर्घाखाँची पठाइएको प्रहरीले जनाएको छ।
