धनगढी । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा वन कार्यालयका कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। घटना भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ बासपानी क्षेत्रमा भएको हो।
स्थानीय धनादेवी धामीले सडक छेउमा राखिएको पुरानो टेम्पोलाई खुद्रा सामान बिक्री गर्ने माध्यमका रूपमा प्रयोग गर्दै आएकी थिइन्। तर, डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले उक्त टेम्पो वन क्षेत्र अतिक्रमण गरी राखिएको भन्दै भिरबाट खसालेका हुन्।
धामीका अनुसार कर्मचारीहरूले टेम्पोभित्रका सामान हटाएपछि आफूले टेम्पो घर लैजान आग्रह गरे पनि नमानी भिरमा फालिदिएका थिए। घटनापछि सामाजिक सञ्जालमा वन कार्यालयको कार्यशैलीको व्यापक आलोचना भइरहेको छ।
यता, डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने पटक–पटक हटाउन आग्रह गर्दा पनि अटेर गरिएको दाबी गरेका छन्। उनका अनुसार सडक क्षेत्रमा राखिएको पुरानो टेम्पो हटाउन कार्यालयले गत पुस महिनादेखि नै ताकेता गर्दै आएको थियो।
“सडकमा चलाउन नमिल्ने पुरानो टेम्पोलाई पसलका रूपमा प्रयोग गरिएको रहेछ। हामीले पटक–पटक हटाउन भनेका थियौँ, तर हटाइएन,” ठाकुरले भने, “कर्मचारी टेम्पो खाली गराउन पुगेका बेला गालीगलौज भएपछि आवेशमा त्यस्तो घटना भएको हुन सक्छ।”
ठाकुरले उक्त टेम्पो सञ्चालनयोग्य अवस्थामा नरहेको दाबी गर्दै राजमार्ग क्षेत्रमा भएका अतिक्रमण हटाउने अभियानअन्तर्गत हालसम्म ४७ वटा संरचना भत्काइएको जानकारी दिए।
घटनाको भिडियो सार्वजनिक भएसँगै सरकारी निकायको कार्यशैली, मानवीय संवेदनशीलता र अतिक्रमण हटाउने प्रक्रियाबारे बहस सुरु भएको छ।
