काठमाडौँ । कैलालीको गोदावरीमा टेम्पो भिरबाट खसालेको घटनामा दुई जना विरुद्ध जाहेरी दर्ता भएको छ । वन कार्यालयका अधिकृत र जमदार विरुद्ध पीडित धनु धामीले किटानी जाहेरी दिएकी हुन् ।
जाहेरी दर्ता गरेर घटनामा संलग्न वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फुलारामाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सनाले रातोपाटीलाई बताए।
प्रहरीले उनीहरू विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न आरोपमा आइतबार पक्राउ परेका अरू १० जना रिहा भएका छन्।
भिमदत्त राजमार्ग सड्क खण्ड स्थित गाइमारेमा व्यापार गर्ने टेम्पो बनका कर्मचारीले धकेलेर भिरबाट लडाएका थिए। टेम्पोमा व्यापार गरेर धनुले वन अतिक्रमण गरेको बनका कर्मचारीको जिकिर थियो। सोमबार दुई पक्षको बिचमा छलफल हुने भनिए पनि पीडितले जाहेरी दिएकी थिइन्।
