धनगढी । अछामको ढकारी गाउँपालिका–४ बलाताकी वडा सदस्य ३५ वर्षीया मनिषा साउद मृत अवस्थामा फेला परेकी छन्। जेठ २९ गतेदेखि बेपत्ता भएकी साउदको शव जेठ ३१ गते साँझ स्थानीय पालेवन जंगलमा डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैनमा राखिएको छ।
प्रहरीका अनुसार यो घटना जेठ २७ गते राति भएको एक घटनासँग जोडिएको देखिएको छ। सो रात साउदको घरमा गाउँकै एक पुरुष रहेको थाहा पाएपछि केही स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। त्यसक्रममा खिचिएका फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको बताइएको छ।
भोलिपल्ट जेठ २८ गते जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको बैठक बसेको थियो। बैठकमा प्रहरीमा उजुरी नगर्ने र साउदका श्रीमान् भारतबाट फर्किएसम्म दुवै पक्षको जिम्मेवारी वडा कार्यालयले लिने सहमति भएको जनाइएको छ। त्यसपछि सोही दिन बिहान साउद घरबाट निस्किएकी थिइन्।
उनी घर नफर्केपछि वडाध्यक्षले जेठ ३० गते प्रहरीलाई जानकारी गराएका थिए। खोजीका क्रममा घरदेखि करिब ५०० मिटर टाढा जंगलमा उनको शव फेला परेको हो।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सोही रात साउदको घरमा भेटिएका भनिएका पुरुषलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ। साथै, सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने तथा मानसिक तनाव सिर्जना गर्ने पक्षमाथि पनि अनुसन्धान केन्द्रित गरिएको छ।
प्रहरीका अनुसार मृतकका श्रीमान् भारतमा रहेका थिए र घटनाको जानकारी पाएपछि नेपाल फर्किने क्रममा छन्। परिवारबाट जाहेरी प्राप्त भएपछि आत्महत्या दुरुत्साहन वा अन्य सम्बन्धित कसुरमा थप अनुसन्धान अघि बढाइने जनाइएको छ।
मृतक साउदका दुई छोरी र एक छोरा रहेका छन्। घटना कसरी यहाँसम्म पुग्यो र कस–कसको भूमिका रह्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
