काठमाडौं । स्ट्राइकर रोमेलु लुकाकुको उपस्थितिले फिफा विश्वकप २०२६ मा बेल्जियम हारबाट जोगिएको छ ।
सोमबार मध्यराति सम्पन्न समूह ‘जी’को खेलमा बेल्जियमले इजिप्टसँग १–१ को बराबरीमा रोकिन सफल भएको हो ।
इजिप्टले अट्याकिङ मिडफिल्डर इमाम आशोउरको गोलमा खेलको १९औं मिनेटमा अग्रता लिए पछि बेल्जियम दबाबमा परेको थियो । मोहम्मद सलाहको पासमा पेनाल्टी बक्स बाहिरबाट सानदार राइट फुटेड प्रहार गर्दै आशोउरले पहिलो गोल गरेका हुन् ।
त्यस पछि बेल्जियमले खेलमा फर्किन कोशिस गरेपनि पहिलो हाफ १–० मा टुंगिन पुग्यो तर दोस्रो हाफमा पनि बेल्जियमले इजिप्टमाथि निकै दबाबमा राख्यो । त्यसपछि कोचले लुकाकुलाई ६६औं मिनेटमा मात्रै मैदान प्रवेश गराए, त्यसकाे एक मिनेट पनि बित्न नपाउँदै उनले गोल हानेर बेल्जियमलाई बराबरीमा ल्याउन सफल भए ।
राइट साइडबाट आएको क्रसलाई चेज गरेका लुकाकुलाई रोक्न इजिप्टका दुई रक्षकले प्रयास त गरेका थिए तर, बल अन्त्यमा राइटब्याक मोहम्मद ह्यानीसँग ठोक्किँदै पोस्टमा गयो । त्यसपछि पनि लुकाकुले विपक्षी रक्षापङ्क्तिलाई दबाबमा राखि नै राखे । तर, खेलमा तेस्रो गोल सम्भव भएन ।
अन्ततः बेल्जियम इजिप्टसँग अंक बाडन बाध्य भयो । दुवैले १-१ जाेडे ।
