• Tuesday 6th of October 2026

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती


  • धनकुटा खबर
  • .

काठमाडौं । चितवनबाट अपहरणमा परेका १६ वर्षीय बालकलाई प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गर्न सफल भएको छ । योजनाबद्ध गरिएको अपहरणमा प्रहरीको कुशल अपरेशनका कारण नारायणगढबाट अपहरणमा परेका बालक सम्भावित दुर्घटनाबाट जोगिएका छन् ।

भारतबाट आएका ६ जनाले असार १ मा नारायणगढमा ११ कक्षा पढ्ने तयारी गरिरहेका बालक अपहरण गरेका हुन् । अपहरणमा परेका बालकका बुवा नारायणगढमा सुन पसल चलाउँछन् ।

अचानक छोरा सम्र्क बिहिन भएपछि सुन पसल सञ्चालकले चितवन प्रहरीलाई जानकारी गराए । प्रहरीले खोजी कार्य सुरु गरेपछि नयाँ नम्बरबाट पीडितको ह्वाट्स एपमा फोन आयो । अपहरणकारीले भने, ‘छोरा चाहिए २२ लाख तयार गरेर सम्पर्क गर्नु ।’ त्यहि नम्बरलाई पछ्याउँदै अनुसन्धान अधिकृतहरू आरोपीहरू सम्म पुगेका हुन् । बालकलाई मंगलबार साँझ गोंगबुस्थित नयाँ बसपार्कमा रहेको होटल फेमिलीबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।

अपहरणमा परेका बालक र भारतको बिहारस्थित बेतिया घर भएका १८ वर्षीय सुजित कुमार पूर्वपरिचित हुन् । सुजित र पीडित बालक कक्षा ७ र ८ मा नारायणगढमा सँगै पढेका थिए । नेपालमा पढाइ छाडेर भारत फर्किएका सुजितले ‘नेपाल आएको छु, भेट्न आऊ’ भन्दै पीडितलाई फोन गरे । स्कुले साथीलाई भेट्न भनेर बालक नारायणगढस्थित सुजितले बोलाएको होटलमा पुगे । होटलमा २ घण्टा राखेपछि सुजित र उनीसँगै रहेका अरु ५ जनाले उनलाई भारतिय नम्बर प्लेटको गाडीमा राखेर काठमाडौँतर्फ ल्याएको अनुसन्धानमा संलग्न डीएसपी अनिल घिमिरेले जानकारी दिए । उनले भने, ‘सुजितले पीडितलाई इन्स्टाग्राममा फोन गरेर घुम्न आएका छौँ भनेको रहेछ ।’

सुजितसँग गाडी चालकबाहेक ६ जना भारतबाट सँगै आएका थिए । बेतिया घर भएका गोलु कुमार शाह, गोलु कुमार, बिक्की कुमार र मोहम्मद साहिदसहित ६ जना सँगै आएका हुन् । उनीहरू ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक युवक र गाडीका चालक फरार छन् । जेठ २ गते बिहान १ बजे काठमाडौं आइपुगेपछि अपहरणकारीहरूले गाडी भारततर्फ फिर्ता पठाएको खुलेको छ ।

आरोपीहरूले भारतबाटै अपहरण गरेर फिरौती माग्ने योजना बनाएर नेपाल आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । अपहरणकारीहरूले रक्सौलमा आएर नेपाली नम्बरको सिमकार्ड लिएका थिए । त्यही नम्बरको ह्वाट्स एपबाट उनीहरूले बालकका बुवालाई फोन गरेका हुन् । बालकलाई अपहरण मुक्त गर्ने शर्तमा उनीहरूले परिवारसँग २२ लाख फिरौती मागेका थिए ।

अपहरणकारीले बालकलाई कुटपिट गरेर रकम नल्याए हत्या गर्ने धम्की दिँदै घाँटीमा धेरै पटक चक्कु राखेर यातना दिएको उनले प्रहरीसँग बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖