झापा । झापाको बिर्तामोड नगरपालिका–५ स्थित नयाँ बसपार्क नजिकको सुकुम्बासी बस्तीमा निरन्तरको वर्षापछि एउटा तीनतले घर जमिनमा भासिएको छ।
स्थानीय ७० वर्षीय पहलमान ठाकुरको घर शनिबार राति करिब २ बजे जमिनमा भासिएर ढल्किएको प्रहरीले जनाएको छ।
घर अचानक भासिन थालेपछि घरभित्र रहेका दुई जना व्यक्ति समयमै बाहिर निस्कन सफल भएका थिए। साथै, केही महत्त्वपूर्ण सामानसमेत सुरक्षित रूपमा बाहिर निकालिएको छ।
प्रहरीका अनुसार घर करिब २० देखि २५ डिग्रीसम्म ढल्किएको छ। घटनाबाट मानवीय क्षति भने नभएको जनाइएको छ।
निरन्तरको भारी वर्षासँगै जमिन कमजोर बनेपछि घर भासिएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीय प्रशासनले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
