काठमाडौं, असार ७ — पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी मृत अवस्थामा फेला परेका छन्।
चितवनको भरतपुर महानगरपालिका स्थित नारायणी नदीको पुलमुनिबाट उनको शव फेला परेको हो।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेल का अनुसार काठमाडौंस्थित घरबाट ‘योगा गर्न जान्छु’ भनेर निस्किएका अधिकारीको शव परिवारले सनाखत गरेका छन्। उनी घरबाट निस्किएको चार दिनपछि मृत अवस्थामा फेला परेका थिए।
प्रहरीका अनुसार नारायणी नदीमा शव बगिरहेको देखेपछि वडा प्रहरी कार्यालय को टोलीले शव निकालेको थियो। पोस्टमार्टम सम्पन्न गरी शव परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
