भक्तपुर — भक्तपुरको नगरकोट मा सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।
जिल्ला मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोडमा बस्दै आएका २८ वर्षीय आकाश रसाइलीमाथि गएराति करिब १० बजे चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल पठाइएको थियो। उपचारकै क्रममा आज बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा तथा तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
