• Tuesday 6th of October 2026

होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या


  • धनकुटा खबर
  • .

भक्तपुर — भक्तपुरमा मदिरा सेवनका क्रममा भएको विवादपछि एक युवकको हत्या भएको छ।

भक्तपुर नगरपालिका–१ मा रहेको होटलमा महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोड बस्दै आएका २८ वर्षीय आकाश रसाइलीको हत्या भएको प्रहरीले जनाएको छ। रसाइली ट्याटु आर्टिस्ट रहेको बताइएको छ।

प्रहरीका अनुसार घटनाको सुरुवात होटलभित्र सामान्य कुराकानीबाट भएको थियो। सोही क्रममा रसाइलीले “ट्याटु हान्ने हो?” भनेर सोध्दा अर्को टेबलमा बसेका समूहसँग विवाद सुरु भएको देखिएको छ।

विवादपछि रसाइलीले फोन गरेर आफ्ना साथीहरू बोलाएको आरोप पनि अर्को पक्षले लगाएको छ। त्यसपछि होटल बाहिर निस्किएर भएको झडपमा झापाको दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पाले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा दोर्जे शेर्पासहित उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भई सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की र गुल्मीको तम्घास घर भई सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई प्रहरीले पक्राउ गरेको छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीको उपचारका क्रममा बिहान ६ः१५ बजे मृत्यु भएको हो। उनको शव हाल काठमाडौंको केएमसी अस्पताल मा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे पनि थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖