गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ४१ वर्षीय यमबहादुर कुमालले मादक पदार्थ सेवन गरी आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमालमाथि दाउराको चिर्पटले कुटपिट गरेका थिए।
कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत भएकी मुनालाई सूचना प्राप्त हुनासाथ प्रहरी चौकी धनार्जेबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याएको थियो। उपचारकै क्रममा बुधबार बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनामा संलग्न यमबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीमकिरण बोगटीले जानकारी दिएका छन्।
