डालस । विश्वकपका शीर्ष गोलकर्ता लियोनेल मेस्सी जोर्डनविरुद्ध हुने अर्जेन्टिनाको समूह चरणको अन्तिम खेलमा बेन्चमा रहने भएका छन्।
अर्जेन्टिनी टोलीका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सी खेलको सुरुवातमै मैदानमा नउत्रिने पुष्टि गरेका हुन्।
३९ वर्षीय मेस्सीले जारी विश्वकपका सुरुवाती दुई खेलमा ५ गोल गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थान ओगटेका छन्। अस्ट्रियाविरुद्धको खेलमा दुई गोल गरेसँगै उनी विश्वकपकै इतिहासमा सर्वकालीन उच्च गोलकर्ता समेत बनेका छन्।
डालसमा आइतबार बिहान हुने खेलअघि बोल्दै प्रशिक्षक स्कालोनीले सुपरस्टार मेस्सीलाई आराम दिने निर्णय कुनै चोटका कारण नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘लियो सम्भवतः दोस्रो हाफमा मैदानमा आउनेछन्। हामीले कुराकानी गरेर नै यो निर्णय गरेका हौँ, तर उनलाई खेलको लयमा राखिराख्नका लागि मैदानमा उतार्नु पनि उत्तिकै राम्रो हुनेछ।’
आगामी खेलहरूमा को खेल्छ भन्ने कुराले भोलिको खेलको टोली छनोटलाई असर नगर्ने उनले बताए। जोर्डन राम्रो टोली भएको टिप्पणी गर्दै उनले खेलमा बल आफ्नो नियन्त्रणमा राखेर दबाब बनाउने र जोर्डनका तीव्र गतिका स्ट्राइकरहरू विरुद्ध सतर्क रहने रणनीति रहेको खुलाए।
यसैबिच, फ्रान्सले नर्वेलाई ४–१ ले पराजित गरेको खेलमा किलियन एम्बाप्पेले आफ्नो गोल संख्यामा थप योगदान दिन सकेनन्। चार गोल गरिसकेका फ्रान्सका एम्बाप्पे र नर्वेका अर्लिङ हालान्ड दुवै यस खेलमा बेन्चमै सीमित रहे।
तर, फ्रान्सकै ओस्मान डेम्बेलेले पहिलो हाफमै उत्कृष्ट ह्याट्रिक गर्दै जारी प्रतियोगितामा आफ्नो गोल संख्या चार पुर्याएर गोल्डेन बुटको बलियो दाबेदारका रूपमा आफूलाई उभ्याएका छन्।
