ललितपुर । ललितपुरमा हत्याको प्र्याङ्क भिडियो बनाएर झुट्टा अफवाह फैलाएको आरोपमा एक महिला पक्राउ परेकी छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार महालक्ष्मी नगरपालिका–७, चाङ्गाथलीस्थित युनाइटेड कलोनी नजिक डेरा गरी बस्ने २५ वर्षीया मन्दिरा गुरुङलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो। उनी पर्वतको फलेवास नगरपालिका–१० की स्थायी बासिन्दा हुन्।
प्रहरीका अनुसार गुरुङले शान्ति सुरक्षामा खलल पुग्ने गरी झुट्टा अफवाह फैलाउने उद्देश्यले आफ्नो हात र ओछ्यानमा रातो अबिर दलेर “मैले साथीलाई मारेँ” भन्ने आशयको भिडियो बनाएकी थिइन्। उनले सो भिडियो सुस्मिता जिरेल नामकी साथीलाई भिडियो कलमार्फत देखाएकी थिइन्।
हत्याको जस्तो दृश्य देखेपछि अत्तालिएकी सुस्मिताले तत्काल जिल्ला प्रहरी परिसर ललितपुरको कन्ट्रोल रुममा जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरी प्रभाग लुभुबाट खटिएको टोलीले तत्काल उक्त डेरा कोठामा पुगेर खानतलासी गरेको थियो।
प्रहरीले कोठामा अनुसन्धान गर्दा मन्दिराले प्रयोग गरेको अबिर र भिडियोको सम्बन्ध पुष्टि भएको जनाएको छ। प्रारम्भिक सोधपुछमा उनले प्र्याङ्क भिडियो बनाएर सामाजिक सञ्जालमा त्रास फैलाउने उद्देश्य राखेको स्वीकार गरेकी छन्।
झुट्टा अफवाह फैलाएर अशान्ति सिर्जना गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
