तनहुँ — तनहुँको आबुखैरेनी–४ मुग्लिङस्थित पुरानो पुलबाट आत्महत्या गर्न लागेका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ।
दाङको राजपुर गाउँपालिका–१ घर भएका ३२ वर्षीय युवक पुलको लठ्ठामा उक्लिँदै गरेका बेला इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको हो।
उद्धारपछि ती युवकले पारिवारिक समस्याका कारण आत्महत्या गर्न खोजेको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार उद्धारपछि युवकलाई प्रहरीको संरक्षणमा राखिएको छ। उनी आबुखैरेनी क्षेत्रमा निर्माण मजदुरी गर्दै आएका थिए।
