• Tuesday 6th of October 2026

पूर्वसचिव भीम उपाध्याय विरूद्ध साइबर ब्युरोमा उजुरी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध नेपाल मेडिकल काउन्सिलले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेको चरित्रहत्या गरेको तथा सामाजिक सञ्जालमार्फत भ्रामक र निन्दनीय सामग्री प्रकाशित गरेको आरोप लगाउँदै काउन्सिलले बुधबार भोटाहिटीस्थित साइबर ब्युरोमा कारबाहीको मागसहित उजुरी दिएको हो।

उजुरीमा उपाध्यायले आफ्नो प्रमाणित फेसबुक प्रोफाइलमार्फत असार १६ गते डा. पाण्डेको तस्बिर अनधिकृत रूपमा प्रयोग गर्दै भ्रामक पोस्ट गरेको उल्लेख छ। उक्त पोस्टमा उनले ‘नक्कली डाक्टर’ सम्बन्धी आरोप लगाउँदै निमित्त रजिस्ट्रार र काउन्सिलका अन्य पदाधिकारीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको काउन्सिलको दाबी छ।

नेपाल मेडिकल काउन्सिलका अनुसार काउन्सिलमा दर्ता नभएका व्यक्तिहरूले एलोपेथी औषधि लेख्ने तथा रेडियोलोजिस्टले मात्र गर्न मिल्ने एमआरआईजस्ता विशेषज्ञ सेवा सञ्चालन गरेको भन्ने उजुरीपछि छानबिन गरिएको थियो। छानबिनका आधारमा दोषी देखिएका व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको र उक्त विषय हाल अदालतमा विचाराधीन रहेको काउन्सिलले जनाएको छ।

काउन्सिलले आफ्नो नियमित नियमनकारी तथा कानुनी अधिकारअन्तर्गत गरिएको कामलाई पूर्वसचिव उपाध्यायले व्यक्तिगत रिसइबीका रूपमा चित्रण गर्दै सामाजिक सञ्जालमार्फत साइबर बुलिङ गरेको आरोप पनि लगाएको छ।

उजुरीमा उपाध्यायको गतिविधि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ विपरीत रहेको उल्लेख गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरी संस्थाप्रति भ्रम, घृणा र द्वेष फैलाएको तथा पेसागत मर्यादामा गम्भीर आँच पुर्‍याएको आरोप लगाइएको छ।

काउन्सिलले उपाध्यायलाई तत्काल पक्राउ गरी आवश्यक कानुनी कारबाही गर्न प्रहरीसँग अनुरोध गरेको छ। साथै, प्रमाणका रूपमा उनको फेसबुक पोस्टका स्क्रिनसट र अपमानजनक टिप्पणीहरू पनि साइबर ब्युरोलाई उपलब्ध गराइएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖