• Monday 5th of October 2026

खसीको मासु भन्दै गाईको मासु बिक्री, होटलमा सप्लाई गर्ने गिरोह पक्राउ


  • धनकुटा खबर
  • .

तेलागंना, १९ असार । भारतको तेलंगानास्थित हैदराबादमा खसीको मासु ९मटन० को नाममा गाईको मासु बिक्री भइरहेको खुलासा भएपछि प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी र सम्बन्धित सरकारी निकायको संयुक्त टोलीले मल्लेपल्ली क्षेत्रमा सञ्चालन हुँदै आएको एक अवैध मासु आपूर्ति केन्द्रमा छापा मार्दा गाईको मासुलाई खसीको मटन भन्दै विभिन्न होटल तथा रेस्टुरेन्टमा आपूर्ति गर्ने गरेको फेला परेको हो।

शहरका प्रहरी आयुक्त सज्जनारका अनुसार खाद्य सुरक्षा तथा उपभोक्ता अधिकार संरक्षण अभियानअन्तर्गत प्राप्त गोप्य सूचनाका आधारमा डिटेक्टिभ विभाग, खाद्य सुरक्षा विभाग, पशुचिकित्सा अधिकारी तथा हबीबनगर प्रहरीको संयुक्त टोलीले उक्त कारबाही गरेको हो।

 

छापाका क्रममा करिब ५० किलोग्राम गाईको मासु बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको मासुलाई सुरक्षित रूपमा नष्ट गरिएको छ भने पक्राउ परेका दुई जना र बरामद सामग्रीलाई थप कानुनी कारबाहीका लागि हबीबनगर प्रहरी कार्यालयको जिम्मा लगाइएको छ।

 

प्रहरीका अनुसार आरोपितहरूले गोवध गरी त्यसको मासुलाई खसीको मटन भनेर विभिन्न होटल तथा रेस्टुरेन्टमा बिक्री तथा आपूर्ति गर्दै आएका थिए।

प्रहरी आयुक्त सज्जनारले उपभोक्तालाई धोका दिँदै खसीको मासुको नाममा गाईको मासु बिक्री गर्नु गम्भीर अपराध भएको उल्लेख गर्दै यस्ता कार्यमा संलग्न जो–कोहीलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।
उनले मासु खरिद गर्दा उपभोक्तालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि वा मासुको गुणस्तरमा शंका लागे तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका छन्।

 

त्यसैगरी टास्क फोर्सका डीसीपी वैभव गायकवाडले खाद्य पदार्थमा हुने मिसावट तथा अवैध मासु आपूर्तिमाथि निरन्तर निगरानी भइरहेको बताए। उनका अनुसार आगामी दिनमा पनि यस्ता गतिविधिविरुद्ध अझ सशक्त रूपमा छापामार अभियान सञ्चालन गरिनेछ।

उनले उपभोक्तालाई विश्वासिलो तथा प्रमाणित पसलबाट मात्र मासु खरिद गर्न, मासुको प्याकेटमा रहेको लेबल, मूल्य र गुणस्तर राम्रोसँग जाँच्न तथा कुनै विक्रेता वा होटल शंकास्पद लागे सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖