बैतडी । बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ख ३९६३ नम्बरको बस दिउँसो करिब ३ः३० बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरी चौकी बैतडी र इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो। घाइतेमध्ये अवस्था गम्भीर रहेका सात जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ भने अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
धनगढी रिफर गरिएकामा बैतडी पाटन नगरपालिका–६ का ३१ वर्षीय दिपक विक, ४३ वर्षीय जनकप्रसाद पन्त, ३१ वर्षीय मोहन पन्त, ३५ वर्षीया धना पहरी, पाटन–८ का ४६ वर्षीय रामदत्त पाण्डे, पाटन–६ का ११ वर्षीय सिद्धार्थ भण्डारी तथा बस चालक पाटन–३ का ३१ वर्षीय दिनेश भाट रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
